अस्पताल अध्यक्षज्युकाे सन्देश

स्वास्थ्य विज्ञानको क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानको व्यवस्था गरी गुणस्तरीय र अन्तराष्ट्रिय मान्यता प्राप्त दक्ष जनशक्ति उत्पादन गर्न र आम नागरिकलाई सर्वसुलभ रुपमा गुणस्तरीय स्वास्थ्य सेवा उपलव्ध गराउन मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना बागमती प्रदेश सरकारबाट २०७६ आश्विन २ गते भएको हो । सेवा, अध्ययन - अध्यापन तथा अनुसन्धान तीन प्रमुख उद्धेश्य लिएको यस प्रतिष्ठानले २०७७ चैत १६ गते देखि विधिवत कानुनीरुपमा प्रदेश सरकार मातहतमा रहेको यस हेटौडा अस्पताललाई प्राप्त गरेको छ ।

२०१६ सालमा स्वास्थ्य सेवा प्रारम्भ गरी २०२२ सालदेखि जिल्ला अस्पतालकोरुपमा सेवा दिदै आएको हेटौडा अस्पतालको स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण स्थान रहेको छ । विभिन्न आरोह अवरोह पारगर्दै आज यहाँसम्म आइपुग्न सरकारको साथै अस्पतालमा संलग्न सञ्चालक, व्यवस्थापक, स्वास्थ्यकर्मी, नागरिक समाज तथा कर्मचारीहरुको महत्वपूर्ण योगदान रहेको जगजाहेर नै छ । दैनिक ४०० सय देखि ६०० सम्म बिरामीहरुलाई स्वास्थ्य सेवा दिदै आएको यस अस्पताललाई हालको १०० शैयावाट तत्काल ३०० शैया र भविष्यमा ७०० शैयाको रुपमा स्तरोन्नति गर्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा शिक्षण अस्पतालमा रुपान्तरण गर्ने प्रकृया अगाडि बढीसकेको जानकारी गराउँन पाउँदा गर्व लागेको छ । विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरु, अत्याधुनिक औजार उपकरण र आवश्यकता अनुसार नर्सिङ्ग र प्राविधिक जनशक्तिको थप व्यवस्था गरी अगाडि बढ्ने सोच प्रतिष्ठानले बनाएको छ ।

नयाँ अस्पताल भवनबाट छिटै सुलभ र सहज स्वास्थ्य सेवा उपलब्ध गराउन हामी प्रतिबध्द छौ । संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, स्वदेशी तथा विदेशी संघ संस्था र समाजसेवी व्यक्तिहरु समेतको सहयोगमा थप भौतिक संरचना निर्माण, अत्याधुनिक उपकरण जडान र सेवा बिस्तारको पहल भईरहेको जानकारी गराउँन चाहन्छु । नयाँ व्यवस्थापन संगै हेटौंडा अस्पतालको भविष्यका वारेमा सवैमा चासो उत्पन्न हुनु स्वाभाविक नै हो । सबै पक्षको सरसहयोग, सल्लाह, सुझावलाई ग्रहण गर्दै जनताको नासोकोरुपमा रहेको हेटौंडा अस्पताललाई चुस्त, दुरुस्त र प्रविधिमैत्री बनाउँदै बागमती प्रदेशकै नमुना अस्पताल बनाउन हामीहरु कटिवद्ध छौं ।

अन्त्यमा तपाँँइहरु सबैको अमुल्य सुझाव र सहयोगले मात्र अस्पतालको उज्जवल भविष्य सुनिश्चित छ । यसका लागि सबैले आ–आफ्नो स्थानबाट अस्पतालको विकास, आत्मनिर्भरता र सुदढिकरणमा विगतका झै योगदान रहने कुरामा हामी विश्वस्त छौं । सबै सहयोगी हातहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।

राजेश प्रसाई,

अध्यक्ष,

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पताल संचालन तथा व्यवस्थापन समिति,

बागमती प्रदेश, हेटौंडा